Like

Showing posts with label हतियारको बिगबिगी. Show all posts
Showing posts with label हतियारको बिगबिगी. Show all posts

Friday, January 30, 2009

हतियारको बिगबिगी

तराईमा ँथ्री फिफ्टी’ हतियारको बिगबिगी

रौतहट, माघ १६ - तराईमा संघर्षरत सशस्त्र समूहका अधिकांश कार्यकर्ताले भारतमा निर्मित थ्री फिफ्टी नामको हतियार बोक्ने गरेको पाइएको छ ।
खुला सीमाका कारण भारतबाट सहजै ल्याउन सकिने र सस्तो मूल्यमा पाइने भएकाले सशस्त्र समूहका अधिकांश कार्यकर्ताहरूले
यो हतियार बोक्ने गरेका हुन् । माओवादी द्वन्द्वका बेला महँगो मूल्य पर्ने यो हतियारको मूल्य अहिले निकै घटेको छ ।
माओवादी द्वन्द्वका बेला यो पेस्तोलको मूल्य ५ हजारभन्दा माथि रहेको माओवादीका एक कार्यकर्ताले बताए । प्रहरीले बोक्ने थोत्रा राइफलको गोली लाग्ने उक्त हतियार तराईका माओवादीले युद्धका बेला निकै प्रयोग गरेका थिए । हाल ती पेस्तोलको मूल्य १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म पर्छ । यो मूल्यमा ती हतियार चाहिए जति पनि किन्न पाइने भूमिगत संगठन परित्याग गरेका एक कार्यकर्ताले बताए । उनले भने, 'नेपाली सीमाको बिहारका गाउँहरूमा निर्मित थ्री फिफ्टी पेस्तोलको अवैध कारोबार गर्ने गिरोहले रौतहटमा यसको आपूर्ति गर्ने गरेको छ । भारतीय सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलले पनि पारिबाट आउने हतियार नियन्त्रणमा चासो नदेखाएको यहाँका एक सुरक्षा अधिकृतले बताए ।
भारतबाट ओसारपसार हुने सस्तो हतियारको मूल्यबारे आफूलाई जानकारी नभएको प्रहरी उपरीक्षक घनानन्द भट्टले बताए । उनले खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको ओसारपसारका बारेमा भारतीय सुरक्षा अधिकारीहरू कुरा गर्ने बताए । दुई दिनअघि जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा -ज्वाला) का जिल्ला इन्चार्जसहित १३ जिल्ला नेताहरूले ११ थान थ्री फिफ्टी पेस्तोल बुझाएका थिए ।
संविधानसभा निर्वाचनपछि रौतहटमा सुरक्षाकर्मीले अवैध थ्री फिफ्टी पेस्तोलसहित १३ जनालाई पक्रेको छ । उनीहरू सबैले भारतमा निर्मित पेस्तोल बोेकेका थिए । पछिल्लोपटक पक्राउ परेका तराई आर्मीका सदस्य महेन्द्र राय यादव, ज्वाला समूहका जिल्ला सेक्रेटरी बैजु पटेल, संयुक्त जनतान्त्रिकका सैन्य सदस्य रामआशिषसँग थ्री फिफ्टी पेस्तोल बरामद भएको थियो । उनीहरू सबै पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पटेल र रोमेश्वर सहनीको साथबाट समेत यस्तै पेस्तोल फेला परेको छ ।