Like

Monday, February 22, 2010

अनेसास इजरायलको आयोजनामा साहित्यिक भेटघाट र वृतचित्र प्रदर्शनी





यही फेब्रुअरी २० शनिबार साँझ इजरायलको तेल अभिवमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले नेपाल बाट इजरायल भ्रमणमा आउनु भएका कवि एवं साहित्यकार श्री अनिल पौडेलको स्वागतार्थ एक साहित्यिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्यो ।



अनेसास इजरायल, मेरो नेपाल द्वैमासिक पत्रिका प्रकाशन समिति लगायत इजरायल स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी रहनु भएको सो कार्यक्रममा कवि एवं साहित्यकार श्री अनिल पौडेल द्वारा आफैले निर्देशन गर्नु भएको नेपाली वृतचित्र "झमक' को प्रदर्शनी गरिएको थियो । "झमक" एउटी यस्ती लेखिका जो शारीरिक रुपमा अशक्त शरीर भएर पनि निरन्तर नेपाली साहित्यमा कलम चलाउदै आइरहेकी प्रतिभावान नारी हस्ताक्षर सुश्री झमक
कुमारी घिमिरेको जीवनीमा आधारित रहेको वृतचित्र हो । करीव आधा घण्टा लामो सो मार्मिक वृतचित्र हेरिसकेपछि एकछिन उपस्थित सबै भाव विह्वल हुनु भएको थियो ।



गीतकार तथा अनेसास इजरायलका अध्यक्ष सुनिल संगमका केही लोकप्रिय गीत संगीतको प्रस्तुति बाट आरम्भ गरिएको सो कार्यक्रममा अनेसास इजरायल च्याप्टरका महासचिव कृष्ण थापाले धेरै अगाडी अनेसास केन्द्रद्वारा आयोजित १९९७को अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम हुनु भएका वरिष्ट साहित्यकारलाइ इजरायलमा यसरी स्वागत् गर्न पाउनु आफ्नो गर्वको बिषय भएको बताउनु भएको थियो।



कार्यक्रममा सुनिल सङ्गम, वसन्त गुरुङ, श्याम रोक्का, श्रीमती टिका खरेल,विष्णु भट्टराई, शंकर पौडेल, सुन्दर नेपाल, नवराज घिमिरे, कृष्ण थापा लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो भने अन्य व्यक्तित्वहरुले वृतचित्र र कार्यक्रमका सम्बन्धमा आ आफ्नो धारणा राख्नुभएको थियो ।







अतिथि श्री अनिल पौडेलले इजरायल स्थित प्रवासी नेपालीहरुमा पनि नेपाली साहित्यप्रतिको लगाव देखेर आफु निकै खुसि भएको कुरा व्यक्त गर्दै आफ्ना केही कविता पनि सुनाउनु भयो । साझा प्रकाशन संचालक समिति र राष्ट्रिय जनसाँस्कृतिक जनसाहित्यिक मन्चका सदस्य साहित्यकार पौडेल लोकसंस्कृति,उत्साह तथा गरिमा लगायात दर्जनौं नेपाली साहित्यिक पत्रिका र पुस्तकका सम्पादक हुनुहुन्छ ।




नेपाली साहित्य, डायास्पोरिक गतिबिधि तथा साहित्यिक प्रकाशनका विषयमा चर्चा परिचर्चा हुदै रात्रिभोज पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment