Like

Monday, March 23, 2009

कृषी बिश्वबिध्यालय र बास्तबिकता

प्रभात खनाल/हेब्रु युनिभर्सिटी, इजरायल ।

[चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन...................................................]


संयोग नै भन्नुपर्छ रामपुर कृषि क्याम्पसका कुनै बेलाका विद्यार्थी पुष्पकमल दाहाल लामो सशस्त्र विद्रोहपछि अहिले नेपालको केन्द्रीय सत्ताको बाग्डोर सम्हलिरहेका छन्। हालै उनैको नेतृत्वको सरकारले रामपुरको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान सहित वन क्याम्पसलाई समेटेर विश्वविद्यालय बनाउने घोषणा गरेको छ। वपगत जस्तै अनेक योजनाहरु घोषणा गर्ने तर कार्वान्नय गर्न नसक्ने सरकारको चरित्रको निरन्तरतामा क्रमभङग गर्न सकियो भने यो योजना ढिलो छिटो लागू हुनेछ। ढिलै भये पनि उचित कार्यान्वयन गर्न सकेको खन्डमा यस योजनाले नेपालको समग्र कृषि विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। तर यदि हामीले नाममात्र परिवर्तन गर्‍यौँ र काम गर्ने शैली र व्यवहार उस्तै रहयो भने विश्वविद्यालय त के महाविश्वविद्यालय नाम दिए पनि त्यसले केही लछारपाटो लाउने छैन।

हामीले बुझिसकेका छौँ, यदि हाम्रो सोच र काम गर्ने शैलि गणतान्त्रिक भएन भने साइनबोर्डको गणतन्त्रले मात्र केही काम गर्दो रहेनछ। कृषि क्षेत्रमा रहेको वर्तमान गतिहीनता निम्त्याउन राज्यका कृषि नीती नियमहरु अवस्य पनि जिम्मेवार छन् र कृषि विश्वविद्यालय स्थापना सँगसँगै ती नीति नियममा परिवर्तन गर्न सकियो भने मात्रै कृषि क्षेत्रमा एउटा राम्रो परिणाम हासिल गर्न सकिन्छ। तर अब समस्या नीती नियममा मात्रै होइन, हामीभित्र रहेको पुरानो कार्यशैली, योग्यता, दक्षता कृषि क्षेत्रको वर्तमान परिस्थितिका लागि कति जिम्मेवार छन् समीक्षा गर्ने र त्यसलाई पनि सच्याउने बेला आएको छ। किनकि एउटा जड्याहा ड्राइभरले हाँकेको गाडी कुनै पनि बेला दुर्घटना हुनसक्छ- चाहे गाडीको इन्जिन र बाटो जतिसुकै राम्रो र नयाँ नै किन नहोस्।

मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्
कृषि विश्वविद्यालयसँगै देशका अन्य विकट ठाउँहरुमा पनि कृषि कलेज तथा अनुसन्धान केन्द्रहरु खोली कृषि शिक्षा, कृषि प्रसार र कृषि अनुसन्धानलाई सँगै लैजानु जरुरी हुन्छ। तर दु:खको कुरा नेपालमा कृषि क्षेत्रका यी तीन प्रमुख खम्बाहरु कृषि शिक्षा, कृषि प्रसार र कृषि अनुसन्धान तीनतिर फर्केका छन्। एउटा सानो उदाहरणको लागि चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन। खासगरी कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई देशको कुनै पनि अनुसन्धान केन्द्रमा अनुसन्धान गर्ने अवसर दिइनुपर्छ। त्यसैगरी योग्य अनुसन्धानकर्ताहरुलाई आवश्यकता अनुसार कृषि क्याम्पसमा अध्यापन गर्ने अवसर दिइनुपर्छ। यसो गरेमा केही हदसम्म अनुसन्धान केन्द्र र क्यम्पसको बीचमा सहकार्यको वातावरण बन्नसक्छ र जानकारी आदानप्रदान हुनसक्छ। अनुसन्धान केन्द्रहरुमा अनुसन्धानकर्ताहरु सरकारले अनुसन्धानको लागि पैसा उपलब्ध नगराएको निहुँमा घाम तापेर तलब खाने परम्पराको अन्त हुन जरुरी छ। त्यसैगरी क्याम्पसमा पनि अध्यापनको साथ साथै प्राध्यापकहरुको लागि खोजमूलक कार्यमा लाग्नै पर्ने नियम बनाउन जरुरी छ।

नेपाली अर्थतन्त्रको एक महत्त्वपूर्ण मेरुदन्ड कृषि क्षेत्र एउटा ब्यवसाय वा उद्योगको रुपमा होइन बाबुबाजेका पालादेखि चलिआएको परम्पराको रुपमा अगाडि बढिरहेको छ। कृषकका समस्या जहाँको त्यहीँ छ, नेपालको अर्थतन्त्र अहिले आईसीयूमा छ र विगत ५० वर्षमा नेपालको आर्थिक वृद्धि दर २ % भन्दा कम देखाइएको छ (हेर्नुस् नेपालको बजेट अर्थिक बर्ष २०६५/६६)। अबको कृषि शिक्षा र अनुसन्धानको गति नेपाली कृषकले भोगिरहेका वास्तविक समस्याहरुप्रति उन्मुख हुनुपर्छ र नेपाली विद्यार्थीहरुले बुझाउने थेसिसहरुमा तिनै समस्याहरुको समाधानको पोको भेटिनुपर्छ। अहिले कृषि क्षेत्रसँग सम्बन्धित धेरै नेपालीहरु विदेशिएका छन् र केही समयअगाडि अर्थमन्त्री डा बाबुराम भट्टराईले विदेश जान खोज्ने नेपाली विद्यार्थीबाट कर लिनुपर्ने भनाइ अगाडि आएको छ। प्राविधिक रुपमा उनी सही छन् र भनाई सम्मानयोग्य छ। किनकि नेपाल प्यारो छ भनेर मात्रै हुँदैन देशलाई वास्तविक योगदान गर्नसक्नुपर्छ। तर एउटा कुरा सबैले बुझ्नुपर्छ कि धेरैजसो नेपाली विद्यार्थी रहरले बाहिर गएका छैनन् र विदेशमा नेपाली विद्यार्थीले जिउने जीवन नेपालको विद्यार्थी जीवनभन्दा कयौँ गुणा कठिन र संघर्षपूर्ण छ। यदि कुनै चप्सुली र घुसपैठ बिना आफ्नो क्षमता र योग्यताअनुसार गरेर खान सकिने दिन आयो भने जुनसुकै क्षेत्रका मान्छेको पनि नेपाल फर्किने क्रम सुरु हुनेछ।

सरकारको कृषि विश्वविद्यालय बनाउने योजना लागू गर्न सकियो भने कृषि, वन र पशु क्षेत्रलाई एक अर्काको परिपूरक क्षेत्रको रूपमा विकास गर्दै तीनवटै क्षेत्रलाई अगाडि बढाउन सकिन्छ। कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छ, तर हामीलाई नेपाली माटोसँग खेल्नसक्ने, गरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ। के कृषि विश्वविद्यालय त्यस्को लागि सक्षम होला त ?

लेखकःप्रभात खनाल ।
मूख्य पेजमा फर्कन यहाँ थिच्नुस्

No comments:

Post a Comment