Like

Tuesday, March 24, 2009

एमालेले गुमाउन लागेको मौका

नेताले आफ्नो भूमिका पूरा गर्ने कि अरूको आलोचनामा सीमित हुने?
नेकपा एमालेका पूर्व महासचिव एवम् संविधान मस्यौदा समितिका संयोजक माधवकुमार नेपालले माओवादीप्रति कडा टिप्पणी गरेका छन्। धनगडीमा आयोजित कार्यक्रममा उनले सरकारको आलोचना पनि गरे। मूलतः उनले ´हतियार र सेना सहितको दललाई सरकारमा लगेर गल्ती गरेको´ धारणा राखे। प्रतिस्पर्धी दलहरूको आलोचना गर्नु बहुदलीय पद्धतिभित्र सहजरुपमा लिने गरिन्छ। यसैले नेपालले माओवादीको सम्बन्धमा गरेका कडा टिप्पणीलाई पनि यसरी नै लिएर सहज र स्वाभाविक भन्न सकिन्छ।
एमालेले महाधिवेशनपछि आफ्नो भूमिका स्पष्ट पार्ने अपेक्षा थियो। अधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पार्टी नेतृत्वले यस विषयमा निर्णय गर्नसकेको छैन। सरकार र प्रतिपक्षी दलबीचको सम्बन्धलाई स्थापित गर्ने मात्र होइन, अब आफ्नै अगुवाइमा देशको राजनीतिलाई डोर्‍याउने नेतृत्व गर्ने र त्यसका लागि सही विचारको खोजी गर्ने मौका एमालेले पाएको छ। कुनै दल विशेषलाई यस्तो अबसर बिरलै आउने गर्छ।उनको जिम्मेवारीका आधारमा अभिव्यक्तिलाई हेर्ने हो भने सहज ठान्न सकिने देखिँदैन। अहिले उनको पार्टी सरकारमा छ। उनले संविधान मस्यौदा समितिको जिम्मेवारी लिएका छन्। यतिबेला नेपालबाट मुलुकले सहजकर्ताको भूमिका अपेक्षा गरेको छ। यति मात्र होइन यस्ता टिप्पणीले नेताहरुले कति अदूरदर्शी निर्णय गर्दा रहेछन् भन्ने पनि देखिन्छ। माओवादी र कांग्रेसबीचको सम्बन्ध चिसिएको छ। प्रमुख ठूला दलहरू एकअर्कासँग खुला प्रतिस्पर्धा गरिरहँदा मुलुकले यतिबेलासम्म गरिसक्नुपर्ने केही महत्वपूर्ण कार्य हुन सकेका छैनन्। ती दलका नेताहरूको जुँगाको लडाइँले २०६२–०६३ को जनआन्दोलनको महत्वपूर्ण कार्यादेश तोकिएकै तालिकाअनुसार सम्पन्न हुन नसकेकको अनुभव सामान्य नागरिकले गर्न थालेका छन्। शान्तिप्रक्रिया लथालिंग भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको सवालमा महत्वपूर्ण निर्णयहरु हुन सकिरहेका छैनन्। संघीयताको आधारका बारेमा राष्ट्रिय सहमति खोज्ने प्रयत्नसमेत हुन सकेको छैन। सत्तालाई उपयोग गर्दै कांग्रेसलाई सक्ने रणनीति बुन्न माओवादी उद्यत छ। माओवादीको ´असफलता´ कुरेर कांग्रेस बसिरहेको छ। यी दुबै स्थितिले ती दलबीच राष्ट्रलाई अग्रगामी दिशातर्फ डोर्‍याउनका लागि आवश्यक समझदारीपूर्ण सम्बन्ध स्थापित हुन सकिरहेको छैन। अर्कातिर, अहिले ती दलबीच सहमतिबिना मुलुकमा कुनै पनि महत्वपूर्ण निर्णय हुनसक्ने अवस्था छैन। माओवादी नेतृत्वको सरकारलाई शृंखलाबद्धरूपमै आफ्नै निर्णयहरु उल्ट्याउँदै गर्नु परेको अवस्थाले नेपाली राजनीतिको धरातलीय यथार्थ छर्लङ्ग हुन्छ। यस अवस्थामा मुलुकले एउटा सबल सहजकर्ताको आवश्यकता महसुस गरिरहेको छ। यस भूमिकामा माधव नेपाल उपयुक्त नाम थियो। संविधानसभामा उनलाई भित्र्याउनु र संविधान मस्यौदा समितिको जिम्मेवारी दिनुको पछाडि यही विश्वासले काम गरेको हो। अर्कोतर्फ एमालेले महाधिवेशनपछि आफ्नो भूमिका स्पष्ट पार्ने अपेक्षा थियो। अधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पार्टी नेतृत्वले यस विषयमा निर्णय गर्नसकेको छैन। सरकार र प्रतिपक्षी दलबीचको सम्बन्धलाई स्थापित गर्ने मात्र होइन, अब आफ्नै अगुवाइमा देशको राजनीतिलाई डोर्‍याउने नेतृत्व गर्ने र त्यसका लागि सही विचारको खोजी गर्ने मौका एमालेले पाएको छ। कुनै दल विशेषलाई यस्तो अबसर बिरलै आउने गर्छ। माओवादीले कम्युनिस्ट मतलाई आफ्नो पक्षमा तान्दैछ भने प्रजातन्त्रवादीहरू स्वभावतः कांग्रेससँग नै नजिकिन चाहन्छन्। हिजोका राजावादी र अबसरवादीको पनि नेपालमा ठूलै जमात छ। त्यो जमात यतिबेला सत्ताको बागडोर सम्हालेका कारण माओवादीसँग नजिकिन पुगेको देखिन्छ। यय अवस्थामा एमालेले आफ्नो धार स्पष्ट गरेर अगाडि बढेन भने ´उसको जनाधार´ नै कुन हो भनेर खोज्नुपर्ने हुन्छ। पहिचानको समस्या आउँदासमेत आफ्नो धार स्पष्ट नपार्ने हो भने एमालेको राजनीतिक हैसियत र भविष्यमा पर्ने खतराको जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ। नेताहरूको अदूरदर्शिता एमालेको अधोगमनको कारण हुने छ। एमालेले ख्याल गर्नपर्ने अर्को विषय यो हो।प्रमुख दलहरुबीचको दूरी घटाएर देशमा सहमतीय राजनीतिको निरन्तरताका लागि पहल गर्दा एमालेले आफ्नो संगठन सुदृढीकरण अभियानसँग पनि जोड्न सक्थ्यो। त्यस्तै राष्ट्रिय हितका लागि योगदान दिने अवसरका रुपमा पनि लिन सक्नुपर्दथ्यो। यसो गर्न सकेका भए एमालेको राजनीतिक हैसियत उच्च बनाउन पनि यसले भूमिका खेल्ने थियो । यो मौका चिन्न नसकी अर्काको आलोचनालाई आफ्नो उचाइ मापन गर्ने आधार बनाएर एमालेले भूल गरिरहेको छ। साथै, कांग्रेस वा माओवादी रिसाउने हो कि भन्ने भयबाट मुक्त हुन पनि नसक्ने तथा उनीहरूसँग निश्चित दूरी पनि किटान गर्न नसक्ने रोगबाट एमाले मुक्त हुन आवश्यक छ। आफ्नो भूमिकाले उचाइ बढाउँछ भने अर्काको आलोचनाले क्षणिक आत्मसन्तुष्टि मात्र दिने हो। एमाले क्षणिक आत्मसन्तुष्टिमा रमाउनु देशको अग्रगमनका लागि नै प्रत्युत्पादक हुनसक्छ। यसैले एमालेका जिम्मेवार नेताले आफूलाई गम्भीरतापूर्वक प्रस्तुत गर्न सक्नुपर्छ।

No comments:

Post a Comment