Like

Tuesday, March 24, 2009

कर नतिर्ने ९ सयलाई सम्पत्तिको स्रोत माग्दै पत्राचार

सरकारले स्वयम् कर घोषणा नगर्ने ९ सय जनालाई सम्पत्तिको स्रोत माग गर्दै पत्र लेखेको छ।चालू आवको बजेटले ल्याएको आयको स्वयम् घोषणा कार्यक्रममा सहभागी नहुने करिव ६ हजारमध्ये सरकारले पहिलो चरणमा ९ सय जनालाई सम्पत्तिको स्रोत खुलाउन भनेको हो। ´सरकारको निगरानीमा रहेका करिव ९ सय जनालाई पत्राचार गरिएको छ´, आन्तरिक राजस्व विभागका महानिर्देशक कपिलदेव घिमिरेले भने- १५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेछ।यसअघि विभागले सम्पत्ति घोषणा नगर्नेहरुलाई कानुनअनुसार कारवाही गर्न कार्यविधि तयार गरिसकेको छ। आर्थिक ऐन र आयकर ऐनअनुसार कारवाही हुनेछ। घिमिरेले विभाग मातहतका सबै कार्यालयलाई कर नतिर्नेहरुको नाम पठाइसकेको जानकारी दिए। विभागले तयार पारेको नामावलीमध्ये धेरै रकम तिर्नुपर्ने व्यक्तिहरुलाई पहिलो चरणमा पत्राचार गरेको हो। यसपछि क्रमशः सबै व्यक्तिको सम्पत्तिको स्रोत खोजिने छ- घिमिरेले भने। सरकारले ठूलो रकम आर्जन गरेर पनि कर नतिरेका करिव १० हजार जनाको नामावली संकलन गरेको छ। नामावलीमा घरजग्गा बैंक सेयर परामर्शदातालगायत् व्यवसायी छन्। सरकारले तोकेको फागुन मसान्तसम्म करिव ४ हजार कार्यक्रममा सहभागी भएका छन्। यसबाट १ अर्व ५० करोड राजस्व उठेको छ।विभागका अनुसार आन्तरिक राजस्व कार्यालयहरुले सबैभन्दा पहिले पत्राचार गरेका व्यक्तिहरुको सम्पत्तिको विवरण माग्ने स्रोत खोज्ने र कर तिरे/नतिरेको जानकारी माग्नेछन् । स्वयम् कर घोषणा गर्न छुटेकाहरुले जरिवानासहित कर तिरे कारबाही गरिने छैन- घिमिरेले भने। यस्तो कर जरिवाना र वर्ष हेरी ६० प्रतिशतसम्म हुनेछ ।यसअघि अर्थमन्त्री बाबुराम भट्टराईले पनि स्वयम् कर घोषणामा सहभागी नहुनेलाई कारबाही गरिने बताएका थिए। ´कार्यक्रममा नआउनेलाई कारबाही गर्न सबै तयारी पूरा गरेका छौं´, अर्थ मन्त्रालयमा अघिल्लो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने- कर नतिर्ने व्यक्तिको सम्पत्तिबाट ५० देखि ६० प्रतिशतसम्म जरिवाना असुल गरिनेछ।

No comments:

Post a Comment