Like

Friday, August 21, 2009

एस.एस.पी.ले दाहसंस्कार गर्न रोक्यो

५ भदौ, काठमाडौं । भारतीय सीमा सुरक्षा वल (एसएसबी) ले नेपालीलाई महाकाली नदीमा दाहसंस्कार गर्न रोक लगाएका छन् ।
बिहीबार शव लिएर महाकाली गएका भीमदत्त नगरपालिका-६ का नरबहादुर बूढा लगायतको समूहलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल-भारत सीमा नजिक बलबासा पुलबाट फर्काइदिए । दाहसंस्कार गर्न गएका उनीहरुलाई एसएसबीले तस्करी गर्न शव वाहन प्रयोग गरेको आरोप लगाएका थिए । ‘दाहसंस्कारको नाममा सीमामा तस्करी गर्न पाइन्न, घर फर्क’ भतिजीको शव लिएर गएका बुढाले भने, ‘घर नफर्के गोली ठोक्छौं भनेर धम्की दिए ।’
सर्पदंशबाट नरबहादुरकी भतिजी सरीता बुढाको बुधबार साँझ महाकाली अञ्चल अस्पत्तालमा मृत्यु भएको थियो । चार कक्षामा पढ्दै गरेकी नौ वर्षीया सरितालाई भीमदत्त नगरपालिका-६ मंगलवार राती घरमै सर्पले टोकेको थियो ।
मृत्यु भएपछि नरबहादुर भीमदत्त नगरपालिकाको म १ द १३ नम्बरको टयाक्टरमा शव लिएर आफन्तसँगै बिहीबार बिहान महाकाली गएका थिए । बनबासा पुलनजिक तैनाथ एसएसबीले शव वाहन रोकेर दाहसंस्कार गर्न नपाइने भन्दै रोकेको बुढाले बताए ।
‘अन्त्येष्टी गर्न शव लिएर आएको भन्यौं’ बुढाले भने, ‘तिमीहरुकै भूमिमा दाहसंस्कार गर भने ।’ बढ्ता बोले गोलीले उडाई दिने धम्की पछि शव लिएर गड्डाचौकी फिर्ता भएको उनले बताए । मलामीले एसएसबीलाई वाहन चेकजाँच गर्न अनुरोध गरेका थिए । तर उनिहरुले मलामीको कुरै सुनेनन् ।
एसएसबीले नेपाली भूमिमै दाहसंस्कार गर्न दबाब दिएपछि बाटोघाटोको असुविधाका कारण मलावी शव लिएर गड्डाचौकी नै फर्केका थिए ।
दाहसंस्कारको अनुमतीका लागि कुरा मिलाई दिन मलामीले गड्डाचौकी ब्यारियलमा खटिएका नेपाली सुरक्षाकर्मीलाई गुहारेका थिए । मलामीको अनुरोधपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरिक्षक अमरिकन चन्द एसएसबीसित कुरा मिलाउन क्याम्पमा गएका थिए । ‘दाहसंस्कार गर्ने परम्परागत ठाउँ हो भनेर सम्झाए’ सई चन्दले भने, ‘वर्खाले वाटो भत्किदा नेपाली भूमीमै दाहसंस्कार गर्न नसकिने बताए पछि मुश्किलले दाहसंस्कारको अनुमती दिए ।’ एसएसबीले नीहु खोजेर नेपालीलाई दुख दिए पनि आफूहरु केही गर्न नसक्ने उनले बताए ।
चन्दलाई एसएसबीवाट शव दाहसंस्कार गर्ने अनुमती लिंदासम्म मलामीले तीन घण्टा कुरेका थिए । मलामीलाई घर फर्काएको खवर फैलिएपछि नेपाल-भारत सीमामा तनाव उत्पन्न भएको थियो ।
प्रहरीले एसएसबीसित कुरा मिलाए लगत्तै मलामीहरु दाहसंस्कारका लागि डराई-डराई महाकाली गएका थिए । फर्केर जाँदा क्याम्पवाट नदी किनारसम्म मलामीलाई एक किलोमिटर पैदल हिँडाएको बुढाले बताए, ‘शवसित वहानमा दुई जना मात्र वस्न अनुमती दिए’ उनले भने, ‘यसपालीलाई ब्यवहारिक हिसावले छुट भो, अर्को पाली ख्याल गर्नु भनेर धम्की दिए ।’ डराएरै दाहसंस्कार गरेको उनले बताए ।
केही दिनदेखि सीमामा भारतीय सुरक्षाकर्मीले नेपालीलाई सामान ओसार पसार गर्नेलाई दुःख दिने गरेको छ । आवत-जावत गर्दा समेत सोधपुछका नाममा यातना पाउने गरेको गुनासो गरिरहेका वेला दाहसंस्कारमा समेत रोक लगाउने प्रयास गरेका छन् ।
कञ्चनपुरका अधिकाश भेगका वासिन्दा दाहसंस्कार गर्न महाकाली जान्छन् । दाहसंस्कार गर्न छोटो र सुविधायुक्त ठाउँ वनवसा पूल छेउ मानिन्छ । यहि नै कञ्चनपुरका वासिन्दाको मसान घाट हो । तर उक्त ठाउँ भारतमा पर्छ । केही वर्षअघि सम्म भारतीय सुरक्षाकर्मी पूलछेमै तैनाथ रहादा दाहसंस्कार गर्न नेपालीलाई सहज थियो । तर, अहिले पुलबाट दुई सय मिटर वर एसएसबीले ब्यारियल खडा गरेको छ । शव लैजाने वाटोमै उसले क्याम्प राखेपछि मलामीलाई कडा निगरानी गर्न थालेको हो, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment