Like

Friday, July 23, 2010

नाटकको अर्को भाग १७ गते

नाटकको अर्को भाग १७ गते
July 23rd, 2010
प्रधानमन्त्रीको कुर्सी नाटकको अर्को भाग साउन १७ गते सोमबार मञ्चन हुने भएको छ। जति जति नाटक लम्बिँदै छ, त्यति त्यति जनतामा त्यसको चासो घट्दै गइरहेको छ। सात गतेको निर्वाचनमा जति चासो थियो, आजको निर्वाचनलाई त्यति वास्ता गरेको जस्तो लागेन मानिसहरुले। लगभग परिणाम निश्चित भइसकेको हुनाले पनि कसैले वास्ता नगरेको हुनसक्छ। यद्यपि, आज पनि नाटक कम रोमाञ्चक भएको हैन मधेसवादी दलहरुको कारण। उनीहरुको बैठक लगातार बसेको बस्यै थियो। बीचमा अनिर्णित भई स्थगित भयो। पछि फेरि बैठक बस्यो र अन्ततः तटस्थ बस्ने निर्णय गर्‍यो। एमालेले भोट नदिने भनेपछि काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल पराजित हुने निश्चित थियो। तर मधेसवादी दलहरुको साथ पाए प्रचण्ड प्रधानमन्त्री बन्न सक्थे।

आजको निर्वाचनमा पौडेलले पहिलेको निर्वाचनमा भन्दा एक भोट कम पाए। माओवादी अध्यक्ष प्रचण्डको भोट भने जतिको त्यति थियो।

प्रचण्डको प्रस्तावमा मतदान हुँदा

उपस्थित- ५७२
पक्षमा- २४१
विपक्षमा-११३
अरु सांसद तटस्थ

पौडेलको प्रस्तावमा मतदान हुँदा
उपस्थित- ५७८
पक्षमा- १२३
विपक्षमा- २४१
अरु सांसद- तटस्थ

एमाले अध्यक्ष झलनाथ खनालले १७ गतेको चुनावमा पनि कसैलाई मत नदिने बताएका छन्। त्यसो हो भने पौडेल फेरि पनि पराजित हुने निश्चित छ र सत्ताको साँचो फेरि पनि मधेसवादी दलहरु कहाँ पुग्नेछ। उनीहरु फेरि पनि यसरी नै तटस्थ बस्ने हुन् भने १७ गते मात्र हैन १७ जुनीसम्म निर्वाचन गरिरहँदा पनि प्रधानमन्त्री चुन्न सक्ने स्थिति छैन।

अहिले आएर हेर्दा क्या काइते संविधान बनाएका रहेछन् हाम्रा विज्ञहरुले जस्तो लाग्न थालेको छ। अघि टिभीमा कानुनका ज्ञाताहरु पनि भन्दै थिए- यस्तो संविधान त विश्वको कुनै पनि देशमा छैन रे। कानुनविदहरुले टिभीमा भन्दै थिए- विदेशमा राष्ट्रपति कार्यकारी भएको देशमा राष्ट्रपतिले प्रधानमन्त्री चुन्ने र संसदीय व्यवस्था भएको देशमा संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था हुन्छ। संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था भएको देशमा पहिलो चुनावमा कसैले बहुमत ल्याउन नसके दोस्रो चुनावमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने र त्यसमा पनि कसैले बहुमत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री हुने व्यवस्था हुन्छ रे। वा पुनः अर्को मतदान प्रक्रियामा जाने हुन्छ रे। हाम्रो संविधानमा त झलनाथ खनाल स्वेच्छाले (पार्टीको इच्छाले) पछाडि हटेकोले मात्र हो, नत्र त यिनै तीन जना उम्मेदवारबीच सात जुनीसम्म चुनाव भएको भयै गर्नुपर्ने हुन्थ्यो। नयाँ उम्मेदवार थपिन पनि नपाउने बाध्यता छ अहिले। के थाहा, दाहाल र पौडेलले पो संसदमा बहुमत जुटाउन नसकेका, अरु कुनै नेताले पो बहुमत जुटाउन सक्ने सामर्थ्य राख्थ्यो कि। अब त मन परे नि नपरे नि दाहाल र पौडेल बीच नै मतदान गराइराख्‍नुपर्ने स्थिति छ।

दलहरु नै सर्वेसर्वा छन्, गर्लान् नि केही। कूतर्क त अब राजीनामा दिइसकेका माधव नेपालले नै संसदमा विश्वासको मत लिएर यही सरकारलाई निरन्तर गराउन सकिन्छ भन्ने पनि निस्केको छ। दलहरु नै हुन् सर्वेसर्वा, हेरौँ, उनीहरुले नै के निकास निकाल्ने हुन्। हामी त यो नाटकका फगत दर्शक न हौँ !

No comments:

Post a Comment