Like

Sunday, July 18, 2010

क्रान्तिकारी र कठपुतली
बाँकी
उता कमल थापा प्रच्छन्न भाषामा ज्ञानेन्द्र सरकारको पुनःस्थापनको रट लगाइरहेका थिए। यता यी जिम्दार कमरेडले प्रस्ट भाषामा माधव सरकारको पुनःस्थापनको बिन्तीपत्र अघि सारे। त्यो रट र यस बिन्तीपत्रमा साझा भाव छ त्यो हो, नारकीय यथास्थितिका रक्षकको पुनःस्थापन, अनि, शनैःशनैः दक्षिणपन्थी सैन्यवादले दमनकारी मुन्टो उठाउने अराजनीतिक वातावरण र हतास सामाजिक मनोदशाको निर्माण। कुरो प्रस्ट छ, माधव सरकारको पुनःस्थापन हुँदा सरकारका प्रवक्ता यी जिम्दार कमरेडको सुस्वादु खान्कीको पनि ट्याक्क पुनःस्थापन हुनेछ। खान पाएकाले आफ्नो राजसी खान्कीको निरन्तरताको दाबी गर्नु त लोभीपापी जगत्को सनातन रीत नै हो। गए शान्ति र संविधान खोलैखोला जाओस्, मौकामा खान छोड्नु हुँदैन। आखिर मनचिन्ते जबजको प्रचलित अर्थ के हो? कल, छल र बलले जसरी हुन्छ खानु, खानु र खाइरहनु।

माओवादीमा पुष्पकमलले प्रधानमन्त्री बन्न खुट्टो उचालेका छन्। र, त्यस खुट्टामा बजार्न किरण, बाबुराम र बादलले भाटा उजाएका छन्। कांग्रेसमा रामचन्द्र पौडेलले खुट्टो उचालेका छन् र त्यस खुट्टामा प्रहार गर्न देउवा र गुरुङ थरका दुई बहादुरले चिर्पट उजाएका छन्। एमालेमा झलनाथ खनालले खुट्टो उचालेका छन् अनि त्यस खुट्टालाई कलमी गर्न केपी ओलीहरूले तरबार उजाएका छन्। लोकतन्त्रको विधि र रीतिबमोजिम प्रधानमन्त्रीका रोलवाला प्रत्याशी यिनै तीन पात्र हुन्। यी राष्ट्रिय चुनाव जितेर आएका हुन्। यी आआफ्नो दलले मानिल्याएका माउ हुन्। र, आआफ्नो संसदीय झोलीका नायक पनि यिनै हुन्। तर, लोकतन्त्रको विधि र रीतिको हुर्मत लिँदै रोलबाहिरकाहरू प्रधानमन्त्री बन्न लाल बुझक्कडी मुद्रामा च्याँखे दाउ थापिरहेका छन्। यो भयावह भाँडभैलोको रिहर्सल हो। दलहरूभित्रको भाँडभैलो र समग्र राजनीतिको पनि भाँडभैलो। यो बिस्ट्याउनेलाई भन्दा देख्नेलाई लाजको विद्रूप कथा हो।

कांग्रेस र एमालेमा सत्ताको लुछाचुँडी हुनु बुझिने कुरा हो। यो तिनले दिव्य बाह्र वर्षको संसदीय दुर्व्यसनबाट ग्रहण गरेको संस्कारको झुसिलो डकार हो। तर, लुछाचु"डीको यो रोग यति छिटै र यति सजिलै माओवादीमा सल्किनु उदेकलाग्दै हो। माओवादी म ज्यान मुठ्ठीमा राखेर संसार बदल्न हिँडेको हुँ भन्थ्यो। तर, संसदवादीको संगतबाट ऊ हिजोको आजै ‘सच्चिएर' तिनकै प्रतिरूपमा ढलान हुन हर्दम् यत्नशील छ। लक्ष्यको एकता, भावनाको एकता, विश्वासको एकता र कार्यको एकता क्रान्तिकारी दलका केही गुण हुन्। अनिकालमा पहिलो गाँस तँलाई, दोस्रो गाँस मलाई, तरबारको चोटमुनि मेरो गर्धनमाथि, तेरो गर्धनमुनि, सास जाओस्, विश्वास नजाओस् र सुखदुःख बराबरी- यी कम्निस्टका प्रिय वाचा हुन्। लाग्छ, माओवादीमा यी आदर्श वाचाको थोक मृत्यु हुँदैछ। र, अहिले प्रधानमन्त्रीको कुर्सीका लागि त्यहाँ एकअर्काको छवि र प्रतिष्ठा खरानी बनाउने नग्न खेल सुरु भएको छ।

प्रचण्ड, बाबुराम, किरण र बादल नेपाली राजनीतिका नयाँ विम्ब हुन्। यी विम्बको निर्माणमा असंख्य मानिसको विवेक र सौर्य, सन्ताप र चित्कार एवं आँसु र रगतको लगानी भएको छ। र, यी विम्बमाथि धेरैका आशा छन्। तर, तिनका आशामाथि तुषारापात गर्दै यी श्रीहजुरहरू अन्तर्कलहको निकृष्ट क्रीडामा मग्न छन्। गर्नै परे झगडा गर्ने त बन्द कोठामा पो हो। प्रधानमन्त्रीमा पुष्कमलको विकल्प इन्द्रकमल भए सोको किटानी गर्ने पनि बन्द कोठामै सल्लाहसाउती गरेर हो। माओवादी नेतृत्व खलनायकी रुचि र प्रवृत्ति भएका झल्ला रंगकर्मीको रंगमञ्चतुल्य प्रतीत भइरहेछ जो आन्तरिक कलहको झुत्रे झन्डा बोकेर जग हँसाउँदै सडकमा छताछुल्ल पोखिँदो छ। लोकले चोर औँलो हल्लाउँदै गरेको कुरिकुरीतर्फ दृष्टि दिन उसलाई न चाख छ न त फुर्सद नै छ।

सत्ताको नदिइने रसभरी चमचम देखाएर लोभ्याउने, जुधाउने र फुटाउनेबाहिर छन्। भ्रमित माओवादी नेतृत्व तिनको आज्ञाकारी कठपुतली भएर लोभिइरहेछ, जुधिरहेछ र आन्तरिक फुटको भयकारी भ्रूण सिर्जना गरिरहेछ। सामाजिक परिवर्तनका थप शक्ति आर्जन र सञ्चय गर्नुपर्ने घडीमा ऊ तुच्छ आन्तरिक किचलोमा जो भएको शक्ति नष्ट गरिरहेछ। आफ्नै हातले सलाई कोरेर ऊ आफ्नै अंकअवयवमा झोसिरहेछ। र, माओवादीको खरानीमा आफू दूबो भएर झ्याङ्गिने सपना देख्ने हुनुसम्म आल्हादित छन्। पुष्पकमलको उपयोग मूल्य निख्रिएपछि ती बाबुरामतिर फर्किए। अहिले जताततै पुष्पकमल बाईबाई, बाबुराम हाईहाईको दक्षिणपन्थी हावा चलेको छ।

र, दलभित्र बाबुरामलाई उचाल्ने र पुष्पकमललाई थचार्ने विवेकहीन नाटकको मञ्चन भइरहेछ। आफूभित्रै भएका कमजोरी र बाहिरबाट थोपरिएका कारणले गर्दा पुष्पकमल त सत्तालोलुप देखिएका थिए नै, अब निष्कलंक बाबुरामको सत्तालोलुप विम्बको धुमधामसँग रचना भइरहेछ। आन्तरिक अन्योल, कलह र विग्रहको दाउमा जब बाबुरामको उपयोगिता सकिन्छ त्यसपछि बाबुराम कान्लामुनि फालिने छन् र बादल शिरमाथि बोकिने छन्। चरणबद्ध विनाशको नाटकमा यसो हुनु अनिवार्य छ। जो आफ्नो स्थान, भूमिका र सानलाई बिर्सेर उक्साहटकारीको खेनौला बन्छ, उसको नियति सदैव यस्तै हुन्छ। काम परे भाँडो, नपरे त्यसका बाउको ठाँडोको त उखानै छ नि।

जो परिवर्तनको संवाहक हो, चतुर र गम्भीर, दूरदर्शी र विनम्र, क्षमाशील र त्यागी, अल्पभाषी र व्यवहारकुशल हुनुपर्ने पनि उसैले हो। पुराना दललाई नयाँ संविधान र वास्तविक संघीयता नभए पनि हुन्छ। तिनले खाइपाई आएको सत्ताको खान्की निरन्तर रहने त यथास्थितिमै हो। त्यसैले त तिनलाई चौध अञ्चल, पचहत्तर जिल्लाको महेन्द्रीय संघीयता औधि मन परेको छ। अक्रान्तिकारीका के के कुरा, क्रान्तिकारिताको अभिनय गरिरहने कमरेड रोहित र कमरेड सीपी मैनालीको काइदाको संघीयता पनि यही हो। महेन्द्रीय रेखांकन, महेन्द्रीय विकेन्द्रीकरण र महेन्द्रीय समावेशीकरणले सजिएको सानदार संघीयता! सके संघीयताविरोधको नारा बेचेर राजनीतिमा दुखम्सुखम् निर्वाह चलाइरहेका कमरेड मोहनविक्रम सिंहलाई पनि यो राजसी संघीयता मनपर्दो हो।

तर, माओवादी र मधेसी परे नयाँ राजनीतिक दल। यिनलाई त नयाँ संविधान चाहिएकै होला। सामाजिक न्याय र समावेशीकरणको धरातलमाथि रेखांकित हुने संघीयता पनि त यिनलाई चाहिएकै होला। हो भने, यो परिवर्तनकामी नयाँ शक्ति एकताको अनुरागमय सूत्रमा उनिएर एक लय एक तालमा परिवर्तनकारी सरकार बनाउन जुट्नुपर्ने बेला हो कि तुच्छ स्वार्थको झुत्रे झन्डा हल्लाएर आन्तरिक कलहको फोहोरी आहालमा डुबुल्की मार्दै जनताको भाग्यमाथि बन्चरो बजार्ने बेला हो?

चैतन्य र इखविनाका कठपुतली अरूको बहकाउमा फुर्फुर नाच्छन्। स्वप्नदृष्टि र दूरदृष्टियुक्त क्रान्तिकारी आफ्नै विवेकको आदेशमा चल्छन्। जो अरूको प्रलोभनकारी बहकाउमा आत्मविनाशको खेल खेल्छन्, ती केको क्रान्तिकारी? ती केको विवेकी र त्यागी? ती केको नवनिर्माणका अग्रदूत? आखिर अलंकारयुक्त नाउँ जे राखे पनि कठपुतली त कठपुतली नै हो।

No comments:

Post a Comment