Like

Saturday, July 24, 2010

माधवपछि माधवै सरकार ?
खगेन्द्र संग्रौला
सारा जगत्को छिःछिःदूरदूर भई आयु निख्रिएर ब्रह्ननालमा सुताइएको माधव सरकार कांग्रेसको छायाँ सरकार हो। महामहिम राष्ट्रपतिले चंगा चेट् भएका शाही जर्नेल कटवाल साहबलाई बोके। र, खैलाबैलाकारी कटवाल काण्डको प्रपञ्चयमय कारखानाबाट माधव सरकारको उत्पादन भयो। यस अर्थमा माधव सरकारलाई जंगी अड्डाको जंगी सरकार भने पनि उत्रो अर्घेल्याइँ हुँदैन। यो जंगीको माउ उद्देश्य माओवादीलाई किनारा लगाएर मुसो बनाउनु थियो। घर न घाटको, जात न थरको बनाउनु थियो। आफ्नो भयंकर अभीष्टमा यो जंगी निकै सफल पनि भयो। संसद्मा माओवादीलाई निस्तेज बनाइयो र सडकमा अवाक् एवं किंकर्तव्यविमूढ बनाइयो। सरकारमा फर्किन चर्का गतिविधि गरुँ, जङ्गी अड्डाले गोद्ने, नरम गतिविधि गरुँ, जंगी सरकार कानमा तेल हालेर बस्ने। बरा माओवादीलाई हत्ते भयो र, अन्ततः आफ्नो अभीष्ट पूरा भएपछि अनुहाररहित माधव सरकारले राजनीतिमा दियो।

दुई गुटमा चिरा परेको एमालेका माधव-केपी कांग्रेसप्रति कृतकृत्य थिए। तिनलाई गुनको पैँचो गुनैले तिर्न हतार थियो। तिनले मुख फोरेर कांग्रेसी महलका श्री रामचन्द्र पौडेललाई आफ्नो मतको कोसेली टक्र्याउन खुट्टा उचालेका थिए। तर, चतुरमति पुष्पकमलले गर्नु गरे। जसरी हुन्छ तिनलाई बाइस दलीय गठबन्धन भत्काउनु थियो। भत्काइछाड्न तिनले कार्यनीतिक दाउपेच रचे। र, सत्ताको कामधेनु गाई देखाएर तिनले झलनाथ खनाललाई झुलाए। पुष्पकमलले भने - प्रधानमन्त्री बन्न म आफैँ यत्न गर्छु, लक्षण राम्रो नदेखिए म हजुरलाई घ्याप्प काँध थाप्छु। सिंहासनको तृष्णाले झलनाथको आँत जलेको थियो।

पुष्पकमलको उधारो वचनबाट तिनको आहत आँतमा शीतल जलको हरहर वर्षा भयो। यसपाला भने हुने भएँ! ती फुर्किए। उता बराबिचरा माधव-केपी परे धर्मसंकटमा। झलनाथको बाटो छेकुँ, हात पर्न लागेको दुर्लभ सिंहासन जानाजान गुमाएको बात लाग्ने। नछेकुँ, परम् कृपाकारी कांग्रेसका नजरमा कृतघ्न ठहरिने। कुटिलमति तिनले गज्जपको जुक्ति रचे। सही ठोकेर बैनास्वरूप दुईतिहाई मत पाए झलनाथ सदर, नत्र मैदानबाटै बदर। सिंहासनको छेवैमा पुगेर अभागी झलनाथ बदर भए।

झलनाथको मत खिच्ने मायावी नारा थियो, दुई तिहाईको राष्ट्रिय सरकार! यस नारामा तिनले असफल अतीतको कटु यथार्थ चटक्कै बिर्सेका थिए। पष्पकमल दाहालको सरकार दुई तिहाईको थियो। तर, त्यसले न शान्तिलाई ऊर्जा दिन सक्यो न त संविधानको श्रीगणेशाय नमः सम्म लेख्ने कार्यको सहजीकरण गर्नै सक्यो। कारण प्रस्ट छ। माओवादी र कांग्रेस चालु राजनीतिका दुईवटा शेर हुन्। बाँकी मझौला दल पूरक वा फोसा हुन्। र, साना दल हुन् च्याँखे दाउका फिरन्ते सिकारी। तुच्छ अनुभव भन्छ, यी धेरैजसो च्याँखेको चरित्र जता मल्खु उतै ढल्कु हो। सीपी मैनालीका ओजनदार शब्दमा 'ओजनदार' मन्त्रालय पड्काउनु यिनको सदाबहार दाउ हो। स्मरण गरौँ, शेररूपी माओवादी सत्तामा छँदा अर्को शेररूपी कांग्रेस सत्ताबाहिर थियो। भित्र र बाहिरका शेर एकअर्कालाई क्रुद्ध दृष्टिले हेरेर डुक्रिँदा डुक्रिँदै माओवादी नेतृत्वको सरकारको नौ महिने आयु चिलिम भयो। तर, गर्नुपर्ने मूल कामको सिन्को पनि भाँचिएन। अनि अहिले? अहिले यो के के न नयाँ कुरो हो भनेझैँ गरी उही बासी कथाको रट लगाइयो। यो कांग्रेसरूपी शेरलाई पाखा पारेर कतै नपुगिने उही दुश्चक्रमा फन्फनी घुम्ने धन्दा हो। यो सुलहको होइन कलहको बाटो हो।

समझदारीको बाह्रबुँदे स्रेस्ताका माउ रचनाकार माओवादी र कांग्रेस हुन्। माओवादी पर्‍यो उथलपुथलकारी विद्रोहको स्रष्टा, कांग्रेस संसदीय प्रजातन्त्रको पहरेदार। यी दुई खेलाडीका नाकमा नत्थी लाएर संघीयताको न्वारान गराउने मधेसी विद्रोही हुन्। जहाँ यी तीन तत्वको मिलन हुन्छ, त्यहाँ राजनीतिले गति लिन्छ। जहाँ यिनको बिछोड हुन्छ, त्यहाँ विग्रहले शिर उठाउँछ। गणितीय दुई तिहाई प्राविधिक गफ हो। गाँठ्ठी कुरा त मधेसी दलको सामेलीसहित राजनीतिका दुई माउ पक्षको सहमतीय सहकार्य पो हो। राजनीतिको एक सग्लो पक्ष माओवादी हो, अर्को पक्ष हो शेररूपी कांग्रेससहितका दलहरूको लर्को। कांग्रेसविनाको माओवादी सरकार अर्धसरकार हो। त्यसैगरी माओवादीबिनाको कांग्रेसी सरकार पनि अर्धसरकार हो। यसअघि सत्तामा दुईवटा अर्ध देखिए। तिनले केही नापेनन्। भन्देखिन्, झलनाथीय अर्धसरकारले साकार रूप लिएकै भए पनि त्यसले के नाप्थ्यो?

नौतिर फर्किएका नौरंगी कम्निस्टहरू कहिलेकाहीँ इतिहासको खिया लागेको बाकसबाट झिकेर पत्रु टेप बजाउँछन्। र, कहिल्यै नहुने वाम-प्रगतिशील समीकरणको उच्चाटलाग्दो राग अलाप्छन्। अलापेको कर्कश स्वर अस्ति पनि सुनियो। वाम-प्रगतिशीलको एउटा लर्को हिजोसम्म बाइसे गठवन्धनको राजसी भान्सामा थियो। र, त्यो माओवादीलाई लाछेर, ताछेर र लतारेर सच्याउन र आफूजस्तै 'नागरिक पार्टी' बनाउन कन्दनी कसेर लागिपरेको थियो।

अहिले माओवादीका दिव्य दृष्टिमा आफ्नो चीरहरण गर्न कटिबद्ध त्यही लर्को वाम-प्रगतिशील समीकरणको अब्बल दर्जाको मित्रगण देखिन गयो। यो वाम दिग्भ्रम हो। यो कृत्रिम प्यारको मिथ्या नखरा हो। यो कथित वाम-प्रगतिशीलको हावादारी हौवा देखाएर कांग्रेसलाई त्रस्त तुल्याउने र आत्मरक्षाका लागि जंगी अड्डातिर धकेल्ने अनर्थ चेष्टा हो। शान्ति र संविधानलाई साकार रूप दिन त माओवादीले शेररूपी कांग्रेससँग र कांग्रेसले शेररूपी माओवादीसँग सरकारमा हातेमालो गरेर सघन संवाद, सहमति र सहकार्यको द्वार खोल्नुपर्ने हो। जो निर्णयकारी शेर हो उसलाई पन्छाएर कहाँ हुन्छ शान्ति? केको लेखिन्छ संविधान? लोकसम्मतिको रट लगाउनु एउटा हो, लोकसम्मतिको सम्मान गर्नु अर्कै हो। लोकसम्मतिले तोकिदिएको औकातअनुसार सत्ताको भागबण्डा गर्ने सुद्धि, बुद्धि र विनयशीलता भइदिए राजनीतिका दुई शेरबीच निषेधकारी यो विघ्न द्वेष किन पो हुँदो हो र? कुखुराको जत्रो चित्त हुनेले के इतिहास फेर्छन्?

आज प्रधानमन्त्रीको चुनावी खालमा कलहकारी गणीतीय नाटकको दोस्रो दृश्यको मञ्चन हुँदैछ। यो बासी मञ्चनमा जनसाधारणको खासै रुचि छैन, बरु अरुचि छ, वितृष्णा छ, क्रोध छ। यो कलाहीन मञ्चनप्रति शान्ति र संविधानको उत्कट चाहना गर्नेका धारे हात उठेका छन्। पुष्पकमल जितुन् कि रामचन्द्र हारुन् अथवा रामचन्द्र जितुन् कि पुष्पकमल हारुन्, के फरक पर्छ? आखिर बन्ने त पुष्पकमलको उही पुरानो सरकार वा कांग्रेसको अर्को माधव सरकार न हो। सरकार यसको होस् कि उसको हुने आखिर माधवै सरकारको कार्बनकपी हो, माधवै सरकारको लिखुरे उत्तराधिकारी हो। माधव सरकार कलह र विग्रह, नातावाद र कृपावाद, असुरक्षा र भ्रष्टाचार, बेथिति र दुराचार, उच्छृंखलता र भाँडभैलोको कीर्तिमानी कारक हो।

यसको यथार्थ कथा इतिहासका भित्तामा मोसोले लेखिएको छ। गणीतीय बहुमतको यस्तै अर्को अर्धसरकार मुलुकलाई चाहिएको छैन। अर्र्धहरूका चर्तिकला देखेर लोक हुनुसम्म आजित भएको छ। तब सिंहासनमा किन चाहियो अर्को माधव औतार? चाहिएको त राजनीतिका दुई निर्णयकारी शेर सहकार्य र सहअस्तित्वको धागोमा उनिएको सग्लो, पूर्ण र जिम्मेवार सरकार पो हो। गर्नु नहुनेजति सबै काम गर्ने गणीतीय माधव सरकार सिंहासनमा छँदैछ। यसको कार्बनकपीको सट्टा यही सक्कललाई सदर गरिदिए के फरक पर्छ?

No comments:

Post a Comment