Like

Thursday, July 22, 2010

MORE

झलनाथ खनाललाई हिजोको दिन आफ्नो जीवन कै सबैभन्दा नरमाइलो दिन भो होला। सत्ता नामको ‘हड्डी’ उनको मुख नजिकै आइसकेको थियो, तर खोसियो। पेनाल्टीमा पराजित हुँदा फुटबल टिमलाई के दुःख हुन्थ्यो होला, जति उनलाई भयो होला। उनी निश्चित रुपमा प्रधानमन्त्री बन्दै थिए। बहुमत उनकै पक्षमा थियो। तर अकस्मात् खेल यसरी खेलियो कि उनी प्रतिस्पर्धा नै नगरी मैदानबाट बाहिरिन बाध्य भए। उनले आफ्नै साथीहरुबाट यसरी रेडकार्ड पाए कि अब शुक्रबार हुने फाइनल खेलमा प्रतिस्पर्धा नै गर्न पाउने छैनन्।

मुख मै आइपुगेको हड्डीलाई खोस्ने काम भने मधेसवादी दलहरुको मोर्चाले गरेको हो। नभए मध्याह्नसम्म झलनाथ खनालको पक्षमा माहौल बन्दै थियो। माओवादीले आफ्नो उम्मेदवार छँदाछँदै एमालेलाई सहयोग गर्ने भनेपछि झलनाथको संभावना बढेको थियो। किनभने एमाले र माओवादी मिलेमा आरामदायी बहुमत पुग्थ्यो। तर एमालेका चलाख नेताहरुले झलनाथलाई दुई तिहाईको शर्त राखेका थिए। एक समय त उनले दुई तिहाई पनि पुर्‍याउलान् जस्तो भएको थियो। 391 जनाको हस्ताक्षर त लिइसकेका थिए उनले।

उपेन्द्र यादवको फोरमले पनि झलनाथलाई सघाउने खबर आएको थियो। त्यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका साना दलको समर्थन पनि उनले पाएका थिए।

तर अन्तिममा कुरा बिगारिदियो मधेसवादी दलहरुको मोर्चाले। उपेन्द्र यादव पनि सहभागी यो मोर्चामा चार मधेसवादी दल छन्- यादव र गच्छदारको गरी दुई वटा फोरम, राजेन्द्र महतोको सदभावना अनि तमलोपा। यिनीहरुका ८२ सांसद छन्। यता प्रधानमन्त्री चुन्नलाई संसदको बैठक बस्न ढिला भइसकेको थियो, उता मधेसवादी दलहरु बैठक सकाउने कुरै गरिरहेका थिएनन्। उनीहरुको पनि समर्थन भएको भए निश्चित रुपमा झलनाथ प्रधानमन्त्री हुने थिए।

तर त्यस्तो भएन। शायद दिल्ली दरबारको आदेशमा मधेसवादी दलहरुले अकस्मात् आफूहरु तटस्थ बस्ने निर्णय गरिदिए। माओवादीलाई एक्ल्याउन चाहिरहेको दिल्लीका लागि माओवादी कै इच्छा र चाहनामा झलनाथ खनालको सरकार बन्नु एउटा ठूलो झट्का हुनसक्थ्यो। दिल्ली यसै पनि आफ्ना दूतमार्फत् प्रधानमन्त्रीको निर्वाचनको तिथि सार्न चाहिरहेको थियो- यो खबर त सञ्चार माध्यममा आइरहेकै थियो। आफ्नो इच्छाविपरीत सरकार बन्ने देखेपछि मधेसवादी दलमार्फत् दिल्लीले त्यसो हुनबाट रोकेका हुन्, यो प्रष्टै छ।

मधेसवादी दलहरुको निर्णयसँगै दुई तिहाई बहुमत नपुग्ने देखिएपछि अरु धेरै स-साना दलहरुले पनि मतदानमा तटस्थ बस्ने निर्णय गरे जसका कारण झलनाथको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुन पुग्यो। अझै पनि एउटा झिनो आशा थियो झलनाथलाई, उम्मेदवारी फिर्ता नभइदिए माओवादीले भोट गरेपछि ३०१ को बहुमतको सरकार बन्थ्यो। तर प्रस्तावक माधवकुमार नेपालले पार्टीले ४०१ नपुगे उम्मेदवारी फिर्ता लिने म्यान्डेट दिएको भन्दै उम्मेदवारी फिर्ता लिएपछि हिस्स बन्न पुगे खनाल।

अब के हुन्छ त ?
झलनाथ बाहिरिएपछि अब मैदानमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र माओवादी अध्यक्ष प्रचण्डमात्र छन्। प्रचण्ड दिल्लीको चाहना हैन। कि त दिल्लीका सामु लुत्रुक्कै पर्नु पर्‍यो प्रभो भन्दै प्रचण्डले। अनि ज्ञातअज्ञात सम्झौताहरु गर्नुपर्‍यो प्रचण्डले। नत्र दिल्लीले उनलाई प्रधानमन्त्री बन्न कसैगरी पनि दिने छैन। दिल्लीको इच्छा विपरीत सरकार बनाउन सक्ने हो भने प्रचण्डले कि एमालेको साथ खोज्नुपर्छ, कि मधेसवादी र अन्य साना दलहरुको।

अर्कोतर्फ रामचन्द्र पौडेल अहिलेको माधव नेपाल सरकारको गठबन्धनलाई कायम राख्‍न सके प्रधानमन्त्री हुन सक्छन्। पौडेललाई दिल्लीले रुचाउने नरुचाउने भन्दा पनि प्रचण्डलाई नरुचाउने हुनाले उनी रोजाइमा पर्न सक्छन्। तर यसका लागि सबैभन्दा ठूलो हात एमालेको हुन्छ। हिजोसम्म एमालेले दुई तिहाई बहुमत नभएसम्म राष्ट्रिय सहमतिको सरकार नबनेसम्म कसैलाई भोट नदिने बताएको छ। रातारात प्रभुहरुको निर्देशनमा केही भए बेग्लै कुरा, नत्र मधेसवादी दल र साना दलहरु अहिले कै अडानमा रहने हुन् भने शुक्रबार हुने निर्वाचनमा पनि रामचन्द्र पौडेल र प्रचण्डले बहुमत पुर्‍याउन सक्ने छैनन्। त्यस्तो अवस्थामा माधव नेपाल कै कामचलाउ सरकार कायम रहनेछ।

No comments:

Post a Comment