Like

Tuesday, January 27, 2009

नेपाल सरकार जीबनमरणमा..

काठमाडौं, माघ १३ - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा पूरा गर्न सरकार जीवनमरणको संघर्षमा रहेको बताएका छन् । उनले सरकारका सचिवलाई आइतबार निर्देशन दिँदै घोषणा गरेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न जीवनमरणको सबाल भएको बताएका हुन् ।
सिंहदरबारमा सोमबार आयोजित सचिवको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले महसुस गर्ने गरी परिवर्तन गरेर देखाउन दह्रो कदम चाल्न निर्देशन दिए । 'जनताका अपेक्षा पूरा गर्न अहिले हामी जीवनमरण -लाइफ एन्ड डेथ) को संघर्षमा छौं । उनले भने, 'मन्त्रालयका योजना कार्यान्वयन जनताले परिवर्तनको अनुभूति हुनुपर्छ । नत्र खतरा हुन्छ ।'
सम्बोधनको भोलिपल्ट सरकारका विशिष्ट श्रेणीका कर्मचारीको बैठक बोलाई प्रधानमन्त्रीले सुधारका कार्यक्रम कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । आइतबार दाहालले खाजाको समय एकदेखि दुई बजेबाहेक तोेकिएको समयमा अनिवार्य कार्यालयमा उपस्थित हुनुपर्ने, जनताका काम छिटोछरितो गर्न टोकन प्रणाली अपनाउन र काम हुन नसके लिखित प्रस्टीकरण दिनुपर्ने घोषणा गरेका थिए ।
उनले जनतालाई तत्काल परिवर्तनको अनुभूति दिलाउन नसके मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने उल्लेख गर्दै स्पष्ट योजना र कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिए । 'अब ढिला गरे राष्ट्र नै असफल हुन्छ भनेर सरकारले नयाँ घोषणा गरेको हो,' उनले भने, 'कार्यान्वयन नगरे राष्ट्र असफल हुन्छ ।' उनले आफ्नो घोषणा चिन्ताको अभिव्यक्ति भएको भन्दै घोषणालाई व्यवहारमै देखाउन आग्रह गरे ।
उनले सरकारले एक महिनाभित्र आमूल परिवर्तन नसके पनि प्रशासनलगायत अन्य क्षेत्रमा परिवर्तन गरेर देखाउन सकिने दाबी गरे ।
'हामी एक महिनाभित्र जादु त गर्न सक्दैनौं,' उनले सचिवहरूलाई निर्देशन दिए, 'तर परिवर्तनको अनुभूति दिन भने अवश्य
सक्छौं ।'
नेपाल सरकारका सचिव सक्षम भए पनि नेतृत्वको कमी भएको उनले औंल्याए । सरकारका योजना कार्यान्वयन गर्न सचिवहरूले जाँगर देखाउनुपर्ने उनको भनाइ थियो । 'विगतमा भएन, अब जाँगरका साथ नयाँ योजना बनाएर कार्यान्वयन गर्नुपर्‍यो ।' आफ्नो सम्बोधनको मर्म र भावना नबुझे अप्ठ्यारो पर्ने चेतावनी उनले दिए, 'सरकारको स्पि्रटलाई बुझ्नुभएन भने खतरा उत्पन्न हुनेछ ।'
प्रधानमन्त्रीले सरकार ढल्छ कि भनेर अन्योलमा नपर्न पनि सचिवहरूलाई विश्वस्त गराए । 'अहिले सरकार ढल्दैन,'
उनले भने, 'कसैले ढाल्न खोजे त्यो आत्मघाती हुनेछ ।' उनलेे आइतबार घोषणा गरेका कार्यक्रम सरकारको आयुसँग नभई समग्र शान्ति प्रक्रियासँग जोडिएको जनाए ।
आफूले गरेको सम्बोधन गरेका कार्यक्रममा नीतिगत विमति कसैको नभएको दाबी गरे ।
सम्बोधनमा प्रशासन क्षेत्रको सुधार, सामाजिक विकृति, विसंगतिको अन्त्य, जनतालाई तत्काल राहत दिनेलगायतका सुधारका कार्यक्रम महत्त्वका साथ उठाइएको छ ।
सचिवहरूको बैठकमा मुख्यसचिव भोजराज घिमिरेले सम्बोधनमा उल्लेखित कार्यक्रमलाई सफल पार्न स्पष्ट कार्ययोजना र कार्यतालिका बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

No comments:

Post a Comment