Like

Friday, January 30, 2009

हतियारको बिगबिगी

तराईमा ँथ्री फिफ्टी’ हतियारको बिगबिगी

रौतहट, माघ १६ - तराईमा संघर्षरत सशस्त्र समूहका अधिकांश कार्यकर्ताले भारतमा निर्मित थ्री फिफ्टी नामको हतियार बोक्ने गरेको पाइएको छ ।
खुला सीमाका कारण भारतबाट सहजै ल्याउन सकिने र सस्तो मूल्यमा पाइने भएकाले सशस्त्र समूहका अधिकांश कार्यकर्ताहरूले
यो हतियार बोक्ने गरेका हुन् । माओवादी द्वन्द्वका बेला महँगो मूल्य पर्ने यो हतियारको मूल्य अहिले निकै घटेको छ ।
माओवादी द्वन्द्वका बेला यो पेस्तोलको मूल्य ५ हजारभन्दा माथि रहेको माओवादीका एक कार्यकर्ताले बताए । प्रहरीले बोक्ने थोत्रा राइफलको गोली लाग्ने उक्त हतियार तराईका माओवादीले युद्धका बेला निकै प्रयोग गरेका थिए । हाल ती पेस्तोलको मूल्य १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म पर्छ । यो मूल्यमा ती हतियार चाहिए जति पनि किन्न पाइने भूमिगत संगठन परित्याग गरेका एक कार्यकर्ताले बताए । उनले भने, 'नेपाली सीमाको बिहारका गाउँहरूमा निर्मित थ्री फिफ्टी पेस्तोलको अवैध कारोबार गर्ने गिरोहले रौतहटमा यसको आपूर्ति गर्ने गरेको छ । भारतीय सीमा क्षेत्रमा तैनाथ सीमा सुरक्षा बलले पनि पारिबाट आउने हतियार नियन्त्रणमा चासो नदेखाएको यहाँका एक सुरक्षा अधिकृतले बताए ।
भारतबाट ओसारपसार हुने सस्तो हतियारको मूल्यबारे आफूलाई जानकारी नभएको प्रहरी उपरीक्षक घनानन्द भट्टले बताए । उनले खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको ओसारपसारका बारेमा भारतीय सुरक्षा अधिकारीहरू कुरा गर्ने बताए । दुई दिनअघि जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा -ज्वाला) का जिल्ला इन्चार्जसहित १३ जिल्ला नेताहरूले ११ थान थ्री फिफ्टी पेस्तोल बुझाएका थिए ।
संविधानसभा निर्वाचनपछि रौतहटमा सुरक्षाकर्मीले अवैध थ्री फिफ्टी पेस्तोलसहित १३ जनालाई पक्रेको छ । उनीहरू सबैले भारतमा निर्मित पेस्तोल बोेकेका थिए । पछिल्लोपटक पक्राउ परेका तराई आर्मीका सदस्य महेन्द्र राय यादव, ज्वाला समूहका जिल्ला सेक्रेटरी बैजु पटेल, संयुक्त जनतान्त्रिकका सैन्य सदस्य रामआशिषसँग थ्री फिफ्टी पेस्तोल बरामद भएको थियो । उनीहरू सबै पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पटेल र रोमेश्वर सहनीको साथबाट समेत यस्तै पेस्तोल फेला परेको छ ।