Like

Tuesday, January 27, 2009

अराजकता नै सुरक्षाकालागी चुनौती : महानिरीक्षक

काठमाडौं, माघ १४ - नेपाल प्रहरीका महानिरीक्षक हेमबहादुर गुरुङले राजनीतिक अराजकताका कारण सुरक्षास्थिति अत्यन्त नाजुक अवस्थामा रहेको बताएका छन् । उनले राजनीतिक अराजकताका अन्त्यबिना प्रहरीलेमात्र सुरक्षा अवस्थामा सुधार गर्न नसक्ने पनि बताए ।
संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिमा भावी सुरक्षा अवधारणा र प्रहरीको भूमिका विषयमा बोल्दै उनले अन्तरिम सुरक्षामा चुनौतीहरू रहेको बताए । 'गम्भीर प्रकृतिका आपराधिक क्रियाकलापहरू देखापरिरहेका छन्,' उनले भने, 'हामीले सोच्न समेत नसक्ने खालका अपराध बढेको छ ।'

उनले सडकबाट दबाब दिएपछि जे पनि प्राप्त हुन्छ भन्ने अराजक मनोवृत्तिका कारण समस्याहरू थपिँदै गएको बताए । 'सबै निकाय र दलको समग्र प्रयासबिना यसको समाधान सम्भव छैन,' उनले भने ।उनले राजधानीमा संगठित अपराधको क्रम बढेको पनि बताए । त्यसमा गुण्डागर्दी, अपहरण र फिरौतीहरू प्रमुख रहेको उनको भनाइ थियो । यस्ता विषयमा ठोस कानुनको आवश्यकता र महानगरीय प्रहरीलाई अर्धन्यायिक अधिकारको आवश्यकता रहेको पनि उनको भनाइ थियो ।

गैरकानुनी रूपमा साना हतियारको प्रयोग पनि आन्तरिक सुरक्षाका लागि चुनौती बनेको उनले बताए । उनले भरखरै विषाक्त रक्सीको विवाद आएको र त्यसको नियन्त्रणका लागि विभिन्न निकायहरूमा समन्वयात्मक कार्य हुन नसकेको उल्लेख गर्दै प्रहरीलाई जिम्मा दिए सजिलो हुने बताए । औद्योगिक प्रतिष्ठानहरूमा चन्दा आतंक बढेको पनि बताए ।

महानिरीक्षक गुरुङले प्रहरी सेवाभित्र विभाजित मानसिकता रहेको दाबीसमेत गरे । सेवा अवधिलाई तजबिजी अधिकारको रूपमा राखिदिँदा प्रहरी प्रशासन विभाजित हुन पुगेको उनले बताए । 'राजनीतिक नेतृत्वले प्रहरी सेवालाई 'भकुन्डो' जस्तो बनाएको छ,' उनले भने, '३० र ३२ वर्षका सेवाअवधि बनाइदिँदा मपछिका दुई जना एआईजीहरू तछाडमछाडको अवस्थामा छन्, यो अवस्था अरू सुरक्षा निकायमा छैन, नेपाल प्रहरीमा मात्र किन ?'

गुरुङसहित उच्च आधा दर्जन अधिकृतहरू ३२ वर्षे सेवा अवधिकै कारण आगामी फागुन ६ मा अवकाश पाउँदैछन् । सेवा अवधिको विवादले प्रहरीमा कामको असुरक्षा बढेको पनि उनले बताए । उन्नाइस हजार भगौडासशस्त्र र नेपाल प्रहरीमा गरी द्वन्द्वका क्रममा झन्डै १९ हजार सुरक्षाकर्मी सेवा छाडेर भागेको दुवै संगठनले जनाएका छन् । सशस्त्रबाट ११ हजार २ सय ४० र नेपाल प्रहरीबाट करिब ८ हजार सुरक्षाकर्मी सेवा छाडेर भागेका थिए ।

सशस्त्र बलका महानिरीक्षक वासुदेव ओलीले सेवा छाडेर भागेकाहरूलाई पुनः भर्ना नगर्ने नीति बनाएको बताए ।

No comments:

Post a Comment